राष्ट्रिय परियचपत्रमा भएका सूचनालाई कसरी सुरक्षित राखिन्छ ?
विभागले संकलन गरेको विवरण गृह मन्त्रालय परिसरभित्र रहेको भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) राष्ट्रिय सूचना प्रविधि केन्द्र (जिआइडिसी)मा भण्डारण गरिएको छ। यहाँ भण्डारण गरेर राखिएका तथ्यांक गृह मन्त्रालय परिसर भन्दा बाहिर हेर्न, चलाउन सकिदैन। साथै तथ्यांकलाई भण्डारण गर्दा इन्क्रिप्ट (संकेतन्) गरी राखिएका कारण विभागका कर्मचारीले बाहेक अरुले हेर्न र बुझ्न सक्दैनन्। यो सिस्टम विदेशीले बनाएको भएपनि यहाँ कामगर्ने सबै कर्मचारी नेपाली नै छन्। कुनैपनि विदेशीहरुको पहुँच विभागले संकलन गरेको तथ्याँकमा छैन। तथ्याँकको सुरक्षालाई ध्यानमा राखेर नै विभागले अन्तराष्ट्रिय सूचना तथा तथ्याँक सुरक्षणको मापदण्डलाई पालना गरेको छ। विभागले संकलन गरेको तथ्याँक अरु सरकारी कार्यालयले पनि प्रयोग गर्न मिल्ने भनिएका कारण कसैले फाइदा पो लिन्छन् कि भन्ने भ्रम हुन सक्छ। तर विभागमा रहेको प्रणालीले मान्यता दिएका आधिकारीक उपकरणहरुबाट मात्र यहाँको सूचना हेर्न सकिन्छ। जसलार्इ जति सूचना चाहिने हो, उसले त्यति मात्र हेर्न पाउछन्। सिस्टममा रहेको सूचना कसले कतिपटक हेर्यो, कुन प्रयोजनको लागि हेर्यो, सोको अभिलेखीकरण समेत प्रणालीले राख्ने व्यवस्था छ। कसैमाथि शंका लागेमा त्यसमाथि निगरानी राख्न सकिन्छ।
