सिराहा जिल्ला नेपालको मधेश प्रदेशमा साविकको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो । प्रदेश भित्रको ऐतिहासिक गौरव बोकेको सिराहा जिल्ला धार्मिक, शैक्षिक तथा पर्यटकीय जिल्लाको रूपमा परिचित छ । यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा सप्तरी जिल्ला, उत्तरमा उदयपुर जिल्ला र पश्चिममा धनुषा जिल्लाले छुट्याएको छ । यहाँको सदरमुकाम सिराहा हो भने प्रमुख शहर लहान, गोलबजार र मिर्चैया हुन् । १२२८ वर्ग कि.मि. क्षेत्रफल (नेपालको कुल क्षेत्रफलको ०.८३ प्रतिशत) रहेको यस जिल्लामा पुरुष ३,६३,७२४ र महिला ३,७६,२२९ गरी जम्मा ७,३९,९५३ मानिसको बसोबास रहेको छ । अधिकांश भाग तराईमा पर्ने सिराहा जिल्लाको मुख्य पेशा कृषि हो । धान, गहुँ, दलहन, तेलहन, उखु, जूट र सुर्ती यस जिल्लामा मुख्य उत्पादन हुन्छ। सिराहा जिल्ला समुद्री सतहबाट ७६ मिटर देखी ८८५ मिटरसम्मको उचाईमा रहेको छ । जिल्लामा मुख्यतयाः थारू, यादव, महतो, मुसहर, तामाङ्ग, मगर, क्षेत्री, मुसलमान लगायत अन्य जातिहरुको बसोबास रहेको पाइन्छ ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, लहान, सिराहा .