जिल्ला प्रशासन कार्यालयको परिचयः
जिल्लामा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य उद्देश्य हो । स्थानीय प्रशासन ऐन, २०२८ ले जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकारहरुको व्यवस्था गरेको छ । जिल्लाको समग्र शान्ति-सुरक्षा कायम गर्दै संघ, प्रदेश र स्थानीय तहबाट संचालित विभिन्न विकास निर्माणका कार्यमा समन्वयात्मक एवं सहजपूर्ण वातावरण स्थापित गर्नु नै जिल्ला प्रशासन कार्यालयको मुख्य कर्तव्य हो । साथै, जिल्लामा अपराध रोकथाम र नियन्त्रणका लागि संघ र प्रदेशद्वारा निर्मित कानुनको कार्यान्वयन गर्नु गराउनु, कानुनद्वारा निर्देशित विषयहरुमा न्याय निरुपण गर्नु गराउनु, जिल्लाभित्र स्थापित सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत-सम्भार गर्नु गराउनु यस कार्यालयको कार्य क्षेत्र पर्दछ ।आपूर्ति व्यवस्थापन र वस्तु तथा सेवाको गुणस्तरीयताको सुनिश्चितता प्रदान गर्ने, कालोबजारी नियन्त्रण तथा उपभोक्ताको हक-हित संरक्षणका लागि विभिन्न निकायसँग समन्वय गरी बजार अनुगमन गर्ने जस्ता कार्यहरु पनि यस कार्यालयले गर्नु पर्दछ । संघ, प्रदेश र स्थानीय तहहरु र अन्य सरोकारबाला बीच समन्वय गरी विपत पूर्व तयारी, प्रतिकार्य र पुर्नलाभ योजना अनुसार कार्य सम्पादन गरी विपदबाट नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने कार्य समेत यस कार्यालयले गर्दछ । जिल्लामा नागरिकहरुलाई नाबालक परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र तथा विद्युतीय राहदानी प्रदान गरी उनीहरुको व्यक्तिगत देखि जैविक विवरणसम्मको संकलन, अभिलेखाङ्कन, व्यवस्थापन एवं संरक्षण गर्ने कार्यमा पनि यस कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ।
ईलाका प्रशासन कार्यालयको परिचयः
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार गृह मन्त्रालयबाट सम्पादन गरिने कार्यहरु तोकिएका छन् । यी कार्यहरुलाई सम्पादन गर्नका लागि मन्त्रालय, विभाग र कार्यालयगत संरचना निर्माण गरिएको छ । नेपालभरका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालय रहेका छन् । जसमध्ये मधेश प्रदेशमा जिल्ला प्रशासन कार्यालय, सिराहा पनि एक रहेको छ । जिल्ला प्रशासन कार्यालय, सिराहाको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा २०४८ सालमा इलाका प्रशासन कार्यालय, लहान, सिराहाको स्थापना भएको पाइन्छ । वि.सं.२०६३।१०।०५ गतेबाट भएको तराई मधेश आन्दोलनका कारण यस कार्यालयबाट सम्पादन हुने कार्यहरू जिल्ला प्रशासन कार्यालय, सिराहाबाट सम्पादन हुने गरेकोमा मिति २०६६।०४।३२ गतेवाट पूर्ववत रुपमा यस कार्यालयको पुनःस्थापना भई रा.प.तृतीय श्रेणीका शाखा अधिकृतको नेतृत्वमा नियमित रुपमा कार्य सञ्चालन हुदै आएको र मिति २०७२।०२।०१ गतेबाट रा.प.द्बितिय श्रेणीका उपसचिवको नेतृत्वमा नियमित रुपमा कार्य सञ्चालन हुदै आएको छ ।
यस कार्यालयले प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायोजित अधिकार बमोजिम नयाँ तथा प्रतिलिपी नागरिकता वितरण, नागरिकताको अभिलेख रुजु, राष्ट्रिय परिचयपत्रको विवरण संकलन, विद्युती राहदानीको सिफारिस, समावेशी (मधेशी/आदिवासी जनजाति/दलित र अन्य) प्रमाणित, फरक नाम, थर प्रमाणित, ठाडो उजुरी/गुनासो सुनुवाई जस्ता सेवा उपलब्ध गराउदै आएको छ । यस अतिरिक्त सरोकारवाला निकायको समन्वयमा शान्ती सुरक्षा, चोरी, तस्करी नियन्त्रण जुवा, चिठ्ठा, लागु औषध नियन्त्रण, विपद व्यवस्थापन, बजार अनुगमन, सार्वजनिक सम्पत्तिको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गदर्छ । ईलाका भित्रका सार्वजानिक सेवा प्रवाहलाई नियमित, नागरिक मैत्री र नतिजामुखी बनाउन सबै कार्यालयहरुसँग समन्वय, सहजिकरण र नियमन सम्बन्धी कार्यहरु समेत सम्पादन गर्दै आएको छ ।
यस कार्यालयको कार्यक्षेत्र लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, धनगढीमाई नगरपालिकाको वडा नं. १२, १३ र १४, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नं. २ र ६ र नवराजपुर गाउँपालिकाको वडा नं.१ रहेका छन् ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, लहान, सिराहा .